२०८१ भाद्र २३

प्रधानसेनापति शर्माद्धारा कमाण्डिङ्ग अफिसरलाई सम्बोधन, संवेदनशिल भई अधिकार निर्वाह गर्नुपर्नेमा जोड ।

प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको कुनैपनि तहको कमाण्ड भन्नु जागिर, वा अधिकारको कुरा नभइ सेवाभावका साथ अत्यन्त संवेदनशिल भई निर्वाह गर्नुपर्ने उत्कृष्ट जिम्मेवारी भएको कुरा बताएका छन् ।
गण तथा गुल्महरुको कमाण्ड गरिरहेका एवं निकट भविष्यमा कमाण्डमा नियुक्त हुन लागेका अधिकृतहरुका लागि सञ्चालित Commanding Officers Orientation Programme का सहभागीहरुलाई सम्बोधन गर्दै प्रधान सेनापतिले उक्त कुरा बताएका हुन् । प्रधानसेनापति शर्माले वर्तमान अन्तराष्ट्रिय, क्षेत्रीय एवं राष्ट्रिय परिस्थितिहरुको संक्षिप्त चर्चा गर्दै नेपालको राष्ट्रिय सुरक्षा लगायत राष्ट्रहितका विविध क्षेत्रमा परिरहेको र पार्न सक्ने असरहरुका साथै नेपाली सेनाको दायित्वका बारेमा प्रकाश पारे ।


आफ्नो जिम्मेवारी क्षेत्रका जनता, जनप्रतिनिधि, विभिन्न निकायका कर्मचारी एवं कानुन कार्यान्वयन गर्ने निकायमाझ सम्बन्धित युनिटहरुले समग्र संस्थालाई प्रतिविम्वित गर्ने कुरा उल्लेख गर्दै आम नेपालीहरुको आस्था र भरोसाको केन्द्रको रुपमा स्थापित नेपाली सेनाको गौरवलाई कायम राख्न मुख्य भूमिकामा रहेका युनिट कमाण्डरहरु लगायत सबैलाई पेसागत मर्यादामा रहेर संस्था र यसमा कार्यरत सकलदर्जाको हितमा समर्पित रहन निर्देशन दिएका छन् ।
नेपाली सेना मुलुकको संविधान, विधि, पध्दति र उत्कृष्ट परम्पराहरुबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिब्द्ध रहेको कुरा बताउँदैे ‘‘व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त गर्न आफू प्रतिब्द्ध रहेको’’ बताए । पछिल्लो समयमा विभिन्न सञ्चार माध्यमहरुको दुरुपयोग गर्दै नेपाली सेनाका कामकारवाहीहरु, यसको नियमित संचालन प्रकृया लगायतका विषयमा अनर्गल प्रचारबाजी भैरहेको तर्फ सकलदर्जालाई सचेत रहन निर्देशित गर्दै प्रधान सेनापतिले संस्थागत हित नै आफ्नो एक मात्र स्वार्थ रहेको र विधि, पध्दति तथा प्रकृया विपरित कसैसँग कुनै सम्झौता नगर्ने पनि पष्ट पारे ।


‘‘असंख्य सिपाहीहरुको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्था भित्र वा बाहिर रहेर संस्थालाइै कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थसिध्द गर्ने दुराशयले प्रेरित कार्य गर्नेहरुको दुस्प्रयासले नेपाली सेना कमजोर नभएको र कहिल्यै नहुने पनि बताए ।
नेपाली जनताको आस्था र भरोसाको केन्द्र नेपालीे सेनाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रुपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने कुरा बताउँदै स्वस्थ प्रतिष्पर्धा व्यक्तित्व विकासका लागि उपयुक्त र स्वाभाविक भएतापनि अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाई आफू अगाडि बढ्न सकिन्छ भन्ने दुर्भावना नराख्न सकलदर्जालाई सुझाव समेत दिए ।
नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित आजको कार्यक्रममा जङ्गी अड्डा र नजिकका निकायहरुमा कार्यरत रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति थियो ।