२०८१ पुष ७

नेपालद्वारा ह्युस्टन हरिकेन्स क्लिनस्वीप, नेपालले क्यानडा र अमेरिकासँग वार्मअप खेल खेल्ने ।

काठमाण्डौँ, उत्कृष्ट बलिङसँगै नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले हराएको छ । योसँगै नेपालले दुई खेलको सिरिज क्लिनस्वीप पनि गरेको छ ।
१२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भयो । जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । इमरान खान जुनियर र लाहिरु मिलान्था १६÷१६ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एक÷एक विकेट लिए ।
त्यसअघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाउन सकेको थियो । कप्तान रोहित पौडेलले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाएका थिए । ओपनर कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे । नेपालका कुनै पनि ब्याटरले क्रिजमा जमेर राम्रो प्रदर्शन गर्न सकेनन् ।
पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । नेपाल अव डालास जानेछ । नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग आईसीसी टी–२० विश्वकप वार्मअप खेल खेल्नेछ । त्यसपछि विश्वकप सुरु हुनेछ ।
विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ । नेपालले ४ जुनमा डालासमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।