२०८१ पुष ७

भारतमा अन्तिम चरणको मतदान जारी, जुन ४ तारिखदेखि मतगणना सुरू हुने ।

काठमाण्डौँ, छिमेकी देश भारतमा लोकसभा निर्वाचन अन्तर्गत शनिबार सातौं एवं अन्तिम चरणको मतदान जारी छ ।
८ राज्य तथा केन्द्र शासित प्रदेशसका ५७ सिटमा लोकसभा सदस्यका लागि आज अन्तिम चरणको मतदान भइरहेको छ ।
बिहारका ८ सिट, हिमाचल प्रदेशका ४ सिट, झारखण्डका ३ सिट, ओडिशाका ६ सिट, पञ्जाबका १३ सिट, उत्तर प्रदेशका १३ सिट, पश्चिम बंगालका ९ सिट र चण्डीगढको १ सिटमा आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।


अन्तिम चरणमा मतदानका लागि मतदाताको संख्या १० करोड ६० लाख छ भने १० लाख ९० हजार मतदान केन्द्र तोकिएको छ ।
यसअघि १९ अप्रिलमा पहिलो चरण, अप्रिल २६ दोस्रो चरणको, मे ७ मा तेस्रो चरण, मे १३ मा चौथो चरण, मे २० मा पाचौं चरण, मे २५ मा छैटौं चरणको मतदान भइसकेको छ।
अन्तिम चरणमा भारतका प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसी लोकसभा सिटमा उम्मेदवार छन् । उनी सन् २०१४ देखि निर्वाचित हुँदै आएका छन्। मोदीसँग प्रतिस्पर्धा गर्न इन्डिया गठबन्धनबाट कांग्रेसका अजय राय उम्मेदवार छन् ।
भारतीय जनता पार्टीका अनुराग ठाकुर हिमाचल प्रदेशको हमीरपुर लोकसभा सिटमा उम्मेदवार छन्। उनी केन्द्रीय मन्त्री हुन् ।
मिसा भारती बिहारको पाटलीपुत्र लोकसभा सिटमा उम्मेदवार छिन्। उनी लालु प्रसाद यादवकी छोरी हुन्। मिसा भारतीविरूद्ध भाजपाले रामकृपाल यादवलाई उम्मेदवार बनाएको छ ।
पश्चिम बंगालको डायमन्ड हार्बर लोकसभा सिटमा तृणमूल कांग्रेसका नेता अभिषेक बनर्जी उम्मेदवार छन्। उनी मुख्यमन्त्री ममता बेनर्जीका भतिजा हुन् ।
अभिनेतृ कंगना रनावत पहिलोपटक चुनाव लड्दैछिन्। हिमाचल प्रदेशकी कंगनालाई भाजपाले मण्डी लोकसभा सिटमा उम्मेदवार बनाएको छ । यहाँ कांग्रेसले विक्रमादित्य सिंहलाई उम्मेदवार बनाएको छ । सिंह हिमाचल प्रदेशका लोक निर्माण मन्त्री पनि हुन् ।
अन्तिम चरणको मतदान आज सकिएपछि मंगलबार (जुन ४) देखि मतगणना सुरू हुनेछ। मतदान सकिएपछि आज बेलुका विभिन्न सञ्चारमाध्यमहरू र संस्थाह?ले एक्जिट पोल सार्वजनिक गर्ने बताइएको छ ।