२०८१ भाद्र २३

बंगलादेशी सांसदको हत्या आरोपी हुसेन नेपालबाट पक्राउ !

काठमाण्डौँ, बंगलादेशका सांसद अनवारुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका सियाम हुसेन नेपालबाट पक्राउ परेका छन् ।
उपचारका लागि मे १२ मा भारत पुगेका सांसद अनार भोलिपल्टदेखि नै सम्पर्कविहीन बनेका थिए । भारतीय प्रहरीलाई उद्धृत गर्दै मे २२ मा बंगलादेश सरकारले उनको मृत्युको पुष्टि गरेको थियो ।
नेपालबाट पक्राउ परेका हुसेन सांसदको हत्या लगत्तै काठमाण्डौँ गएको हल्ला चलेको थियो । उनी गत बिहीबार नै पक्राउ परेको समाचारमा उल्लेख छ ।
हुसेनको सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल गरिरहेको बताइएको छ ।
यसैबीच, ढाका महानगरीय प्रहरीको डिटेक्टिभ ब्रान्च (डीबी)को चार सदस्यीय टोली शनिबार बिहान नै ढाकाबाट काठमाडौंतर्फ प्रस्थान गरेको ढाका ट्रिब्युनको समाचारमा उल्लेख छ ।
डीबीका प्रमुख अतिरिक्त कमिस्नर हारुनोर रशिदले आफूहरूले हुसेनलाई नेपालमा पक्राउ गरेको जानकारी पाएको बताएका छन् । सांसद अनारको हत्यामा संलग्न रहेको आरोप लागेका अन्य अभियुक्त पनि हत्यापछि नेपाल आएको आशंका गरिएको छ ।
सांसद अनार प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका सांसद हुन् । उनले २०१४, २०१८ र २०२४ मा झेनैदह–४ बाट चुनाव जितेका थिए ।