२०८१ भाद्र २३

इजरायली सेनाद्वारा चार बन्धकलाई जीवितै उद्धार ।

काठमाण्डौँ, इजरायलले शनिबार आफ्नो सेनाले चार बन्धकलाई जीवितै उद्धार गरेको जनाएको छ ।
संयुक्त राष्ट्रसंघद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमणको छानबिन भइरहेको सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेका बेला बन्धकलाई जीवतै रिहा गरिएको इजरायली सेनाले जनाएको छ ।
गत अक्टोबर ७ मा भएको आक्रमणका क्रममा प्यालेस्टाइनी इस्लामिक लडाकु समूह हमासले नोभा म्युजिक फेस्टिभलबाट ती चारैजनालाई अपहरण गरेको सेनाले जनाएको छ ।
उद्धार गरिएकामा २५ वर्षीय नोआ अर्गमानी, २१ वर्षीय अल्मोग मेइर जनवरी, २७ वर्षीय आन्द्रे कोज्लोभ र ४० वर्षीया श्लोमी जिभ रहेका छन् । सेनाले बन्धक उद्धारको घोषणा गर्नुभन्दा केही समयअघि नुसिरात शिविर वरपरका ‘हमासका अखडा’ लाई निसाना बनाइरहेको जनाएको थियो ।
गाजाको एक अस्पतालले नुसिरात शिविरलगायत मध्य क्षेत्रमा शनिबार गरिएको भीषण आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको जनाएको छ ।
हमासले ‘मृतकका शव र घाइतेलाई सुरक्षित कोठामा राखिएको’ जनाएको छ । ‘नुसिरात शिविरमा इजरायली सेनाले क्रूर र बर्बर आक्रमण गरेको’ हमासले आरोप लगाएको छ ।
प्यालेस्टाइनी शरणार्थीका निम्ति संयुक्त राष्ट्रसंघीय निकाय यूएनआरडब्ल्यूएले ६ हजार विस्थापितलाई आश्रय दिइरहेको विद्यालयमा इजरायलले आक्रमण गरेको भन्दै त्यसको निन्दा गरेको छ ।
इजरायलले गाजामा हमास र उसका सहयोगीले संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित सुविधासहित नागरिक पूर्वाधारलाई परिचालन केन्द्रका रूपमा प्रयोग गरेको आरोप लगाएको छ ।