२०८१ भाद्र २३

नेपाली र चिनियाँ सुरक्षाकर्मीद्वारा पहिलो पटक संयुक्त रूपमा सिमा क्षेत्रको गस्ती ।

गोरखा, उत्तरी गोरखाको बोर्डर आउट पोस्ट (बिओपी ) को टोली र चिनियाँ सुरक्षाकर्मीको टोलीले पहिलो पटक संयुक्त रूपमा सिमा क्षेत्रको सुरक्षा गस्ती गरेको छ ।
दुई देशका सुरक्षाकर्मी बिच सीमाक्षेत्रमा अवाञ्छित गतिविधिमा पूर्ण रूपमा निषेध गरेर जानेमा छलफल भएको सशस्त्र प्रहरी कार्यालय गोरखाका प्रमुख सुमन बोगटीले जानकारी दिए । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – १ को साम्दोमा स्थापित बिओपिमा खटिएका सशस्त्र प्रहरी टोली र चिनियाँ प्रहरी टोलीले रोइला भन्ज्याङस्थित ३५ नम्बर सीमा स्तम्भ आसपासमा संयुक्त रूपमा गस्ती गर्दै दुई देशका सुरक्षाकर्मी बिच नियमित सम्पर्क र समन्वयमा आपराधिक गतिविधिलाई पूर्ण रूपमा निस्तेज पार्ने सहमति बनेको सशस्त्र प्रहरी गोरखाका प्रमुख बोगटीले बताए ।


उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – १ साम्दोमा रहेको रुइला भञ्ज्याङ नाका नेपाल र चीन बिच आवतजावत गर्ने मुख्य नाका भएकाले सरकारले बिओपी स्थापना गरेको हो । यस नाका उत्तरी गोरखाका बासिन्दाहरू आफूलाई चाहिने उपभोग्य सामान रोइला भञ्ज्याङ हुँदै ल्याउने गरेकोमा विगत ५ वर्ष देखि यो नाका बन्द अवस्थामा छ ।


नेपाल सरकारले जेठ १३ गते साम्दोमा बिओपी स्थापना गरे सँगै दुई देशका सुरक्षाकर्मी बिच पहिलो पटक सौहार्दपूर्ण वातावरणमा सकारात्मक छलफल भएको सशस्त्र प्रहरी गोरखाले जनाएको छ ।