२०८१ भाद्र २३

अमेरिकी प्रतिनिधिमण्डल र तिब्बती धार्मिक गुरु दलाई लामाबिच भेटवार्ता ।

भारत, धर्मशाला–अमेरिकी काँग्रेसको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज (बुधबार) तिब्बती धार्मिक गुरु दलाई लामासंग भारतमा भेटवार्ता गरेका छन् ।
अमेरिकी काँग्रेसमा विदेश मामिलासम्बन्धी समितिका रिपब्लिकन सभापति माइकल म्याककाउलको नेतृत्वको टोलीमा पूर्वसभामुख न्यान्सी पेलोसी समेतका सातजना सामेल थिए । दलाई लामालाई भेट्न टोली मंगलबार भारतको हिमाञ्चल प्रदेश पुगेको थियो । तिब्बती धामिंक गुरु दलाई लामा सन् १९६० को दशकदेखि भारतको धर्मशालामा बस्दै आएका छन् ।


अमेरिकी प्रतिनिधिमण्डलले तिब्बतको प्रवासी सरकारको कार्यालय समेत भ्रमण गरेको थियो । सो कार्यालयले तिब्बतलाई चीनबाट स्वायत्त बनाउनका लागि भूमिका खेल्दै आएको छ । चीनले अमेरिकी काँग्रेसको प्रतिनिधिमण्डलले दलाई लामासँग भेट्नुअघि नै कडा वक्तव्य जारी गरेर तिब्बतको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो ।