२०८१ भाद्र २३

७२ जिल्लामा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलियो, महामारीको रूपले लिने अनुमान ।

काठमाण्डौँ, काठमाण्डौँ उपत्यका लगायत देशका ७२ जिल्लामा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
ईडिसिडी अन्तर्गत किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार सन् २०२४ सुरु भएदेखि आजसम्म ७२ जिल्लामा एक हजार १७५ जनामा डेंगु पुष्टि भइसकेको छ ।
प्रदेश अन्तर्गत सबैभन्दा बढी बागमती प्रदेशमा ४०३ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, कोशी प्रदेशमा २७७, मधेश प्रदेशमा ३४, गण्डकी प्रदेशमा १८७, लुम्बिनी प्रदेशमा १३९ कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिममा ११८ जनामा डेंगु पुष्टि भएको डा. दाहालले जानकारीदिए ।
जिल्ला अन्तर्गत काठमाण्डौँमा सबैभन्दा बढी १२२ जनामा डेंगु पुष्टि भएको छ । झापा १११, चितवनमा ७४, मकवानपुरमा ५६, सिन्धुपाल्चोकमा ४४, तनहुँ ४६, ओखलढुङ्गामा ४१, रुपन्देहीमा २८, डोटीमा ३०, भक्तपुरमा २७ जनामा डेंगु पुष्टि भएको दाहालको भनाइ छ ।
नेपालको केही वर्षको तथ्यांकले नेपालमा डेंगु महामारीका रूपमा देखापर्दै आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार नेपालमा सन् २०१९ मा १७ हजार ९९२ जनामा, सन् २०२० मा ५३०, सन् २०२१ मा ५४०, सन् २०२२ मा ५४ हजार ७८४, र सन् २०२३ मा ५१ हजार २४३ जनामा डेंगु पुष्टि भएको थियो ।
यो वर्ष पनि समय नै डेंगु बनाउने लामखुट्टे नियन्त्रण नगर्ने हो भने डेंगुले महामारीको रूपले लिने धेरैको अनुमान छ।
वर्तमान समय डेंगु नियन्त्रण गर्ने अतिउत्तम समय भएकोले सबै सरोकारवाला निकायले ध्यान दिन सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले आग्रह गरेका छन् ।
यसवर्ष डेंगु संक्रमणले महामारीको रूप नलियोस् भनेर काम अगाडि बढाएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताए । मन्त्रालयले डेंगु रोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ । त्यसैगरी, स्वास्थ्य संस्थामा फोकल प्वाइन्ट तोक्ने र डेंगुको उपचारमा चाहिने सामग्री तयारी अवस्थामा राखेको डा.बुढाथोकीले जानकारी दिए ।