२०८१ भाद्र २३

इन्जुरी टाइम गोल गर्दै जर्मनी समूह विजेता, स्विट्जरल्याण्ड अन्तिम १६ मा  ।

काठमाडौं,  इन्जुरी टाइममा गोल गरेपछि युरो २०२ ४ को आयोजक जर्मनीले स्विट्जरल्याण्डसँग १–१ को बराबरी खेल्दै समूह ए विजेता बनेको छ ।
यसअघि नै समूह ए मा लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरिसकेको जर्मनीका लागि समूह विजेता बन्न बराबरी नै पर्याप्त थियो ।
खेलको २८औं मिनेटमा डान एनडोएले गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । हार नजिक पुगेको जर्मनीका लागि फुलक्रगले इन्जुरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल गरेका थिए ।
बराबरीपछि जर्मनी तीन खेलबाट ७ अंक जोड्दै समूह ए को विजेता बनेको हो स्विट्जरल्याण्ड ३ खेलबाट ५ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । पहिलो खेलमा हंगेरीलाई हराएको स्विट्जरल्याण्डले स्कटल्याण्डसँग पनि बराबरी खेलेको थियो ।


यस्तै, समूह ए कै अर्को खेलमा हंगेरीले स्कटल्याण्डलाई १–० ले हराएर पहिलो जित निकाल्यो । यसअघि लगातार दुई खेल हारेको हंगेरीलाई पहिलो जित दिलाउन केभिन कोबोथले इन्जुरी टाइमको दशौँ मिनेटमा गोल गरे ।
जितपछि हंगेरी ३ खेलबाट ३ अंक जोडेर समूह ए को तेस्रो स्थानमा छ । हंगेरीका लागि तेस्रो हुने मध्ये उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा पुग्ने सम्भावना बाँकी नै छ ।
उता, स्कटल्याण्ड भने जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ । स्कटल्याण्ड पहिलो खेलमा जर्मनीसँग पराजित भएको थियो भने दोस्रो खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो ।
तीन खेलबाट १ अंक मात्र जोडेको स्कटल्याण्ड जारी युरोबाट बाहिरिने पहिलो टिम बनेको हो ।