२०८१ भाद्र २३

केन्याको संसद भवनमा आगजनी, प्रहरीको गोली लागि ५ जना प्रर्दशनकारीको मृत्यु ।

काठमाण्डौँ, केन्याको राजधानी नैरोबीमा नयाँ वित्त विधेयकको विरोधमा संसद भवन प्रवेश गरेर आगजनी र तोडफोड सुरु भएको प्रदर्शनमा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएको छ ।
मंगलबार हजारौं प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेर आगजनी र तोडफोड सुरु गरेपछि त्यहाँबाट सांसदरहरू भागेका थिए ।
बीबीसीका अनुसार भिडलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा कम्तिमा ५जनाको मृत्यु भएको हो । चर्को विरोधका बाबजुद मंगलबार उक्त विधेयक संसदबाट पारित भएको थियो । नयाँ ऐन पारित भएसँगै नागरिकका लागि कर बढ्नेछ ।
प्रदर्शनका धेरै भिडियोहरू बाहिर आएका छन् । त्यसमा नैरोबीलगायत धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको देखिएको छ । प्रहरीले भीडमाथि अँश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा समेत प्रहार गरेको थियो । नैरोबीमा प्रहरीले भीडलाई तितरबितर पार्न गोली चलाएको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि पनि ढुंगा हानेका छन् ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टमा केन्या सरकारले कर वृद्धिबाट २२ हजार ५२१ करोड रुपैयाँ थप राजस्व पाउने उल्लेख छ ।
सरकारले अहिले वार्षिक राजस्वको ३७ प्रतिशत ऋणको ब्याज तिर्न खर्च गरिरहेको छ ।
अल जजिराका अनुसार यो वित्त विधेयक मे महिनामा पहिलो पटक संसदमा पेश गरिएको थियो । विपक्षी सांसदहरुले पनि विधेयकको विरोधलाई समर्थन गरेका छन् ।
यस विधेयकमा कर सुधार र बढाउने व्यवस्था छ । यसअन्तर्गत बैंक ट्रान्सफर र डिजिटल भुक्तानीमा ५ प्रतिशत कर बढाइएको छ । जसका कारण मानिसहरु डिजिटल भुक्तानीमा आश्रित भएकाले आक्रोश बढेको छ ।