२०८१ भाद्र २३

प्रतिबन्धित रसायन ‘कार्बाइड’ हालेर पकाएको आँप नष्ट ।

कञ्चनपुर, प्रतिबन्धित रसायन ‘कार्बाइड’ हालेर पकाएको आँप बजारमा बिक्री वितरण गरेको पाएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ५ हजार ७ सय ८० किलोआँप बरामद गरी नष्ट गरेको छ ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहराले महेन्द्रनगर बजार क्षेत्रबाट बरामद गरिएका आँप नष्ट गरिएको जानकारी दिनुभयो । भारतीय बजारबाट ल्याएका प्रतिबन्धित रसायन हालेर पकाएका आँप बिक्री वितरण भइरहेको सूचनाका आधारमा अनुगमन टोलीले आँप बरामद गरेको थियो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले स्थानीय तहले पनि बजार अनुगमनमा सक्रियता देखाउनुपर्नेमा जोड दिए । उनले बजारका डेरी पसलदेखि मिठाइ पसलसम्म अनुगमन तीव्र पारिएको बताए ।
खाद्य अनुसन्धान अधिकृत बोहराले प्रतिबन्धित रसायन हालेर पकाएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जफत गरेर नष्ट गरिएको बताए ।