बाढी, पहिरो र डुबानलगायत कारण आठजनाको मृत्यु, छजना बेपत्त ।
काठमाण्डौँ, अबिरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न क्षेत्रमा आठजनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सातजना घाइते भएको प्रहरीले जनाएको छ ।
देशभरका ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ ।
त्यसैगरी, दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छजना बेपत्ता भएको प्रवक्ता कार्कीले जानकारी दिए । अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
भारी वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी, नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेको छ ।
प्रतिक्रिया दिनुहोस्