२०८१ चैत्र ३

सहकारी छानबिन समितिले आज पीडितसँग छलफल गर्ने ।

काठमाण्डौँ, सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरुसँग आज छलफल गर्ने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले आज पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको हो । सहकारीका पीडितहरुसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्य थापाले जानकारी दिए ।
मंगलबार बसेको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । आज पीडितहरुसँग छलफल गरी त्यहाँभित्रको समस्या समाधानका लागि थप तथ्यहरुको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ ।
आज हामीले पीडितका प्रतिनिधिहरुसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने योजना बनाएका छौँ । २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमूलक पीडितहरुलाई बोलाएका छौँ । सबै पीडितहरु बोलाएर छलफल गर्न सम्भव हुन्न। हामीले विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगत रुपमा अनेक हिसाबले सहकारीबाट पीडित रहेका पीडितहरुको कुरा सुन्ने कार्यक्रम बनाएको सभापति थापाले बताए ।
विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गरेको थियो । अब पीडितहरुसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायहरुको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताए ।