२०८१ भाद्र २३

एसीसी महिला टी–२० एसिया कप क्रिकेट शुरु, आज नेपालले युएईको सामना गर्दै ।

काठमाण्डौँ, एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो दिन आज (शुक्रबार) नै नेपाली टोलीले आफ्नो पहिलो खेल खेल्नेछ ।
नेपालले समूहगत चरणको पहिलो खेल यूएईसँग खेल्न लागेको हो । नेपाल र युएईबिचको खेल नेपाली समयअनुसार, अपराह्न १४ः१५ बजे सुरु हुनेछ ।
प्रतियोगिताकोे दोस्रो खेलमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान आपसमा भिड्ने छन् । भारत र पाकिस्तानबिचको खेल नेपाली समय अनुसार, राति १९ः१५ बजे सुरु हुनेछ ।
नेपाली टोलीले समूहगत चरणमा आफ्नो दोस्रो खेल जुलाई २१ तारिखमा पाकिस्तानसँग डम्बुलामै खेल्नेछ । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल जुलाई २३ तारिखमा बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ ।

एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता श्रीलङ्काको डम्बुलामा सुरु हुँदै छ । महिला एसिया कपको यो नवौँ संस्करण हो । प्रतियोगितामा नेपालसहित आठवटा राष्ट्रको सहभागिता रहेको छ ।
जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’मा परेको छ । दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि सोही समूहमा छन् । चौथो टोलीको रूपमा युएई छ ।
प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल हुनेछ ।