२०८१ भाद्र २३

मधेस प्रदेशमा नेपाली काँग्रेसलाई अर्थसहित चार मन्त्रालय, आजै शपथ ग्रहण ।

जनकपुर, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली काँग्रेसलाई अर्थमन्त्रालय सहित चार मन्त्रालय दिएर सरकारमा सामेल गराएका छन् ।
नेपाली काँग्रेसले मागेको अर्थसहित चार मन्त्रालय दिएर मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । बिहीबार अपराह्न ५ बजेपछि कांग्रेसले पठाएका चार जना मन्त्रीलाई नियुक्त गरी शपथग्रहण गराउन लागिएको हो।
नेपाली काँग्रेस, मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवका अनुसार पार्टीबाट नार्दनसिंह क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सुनिलकुमार यादवलाई अर्थ, शेषनारायण यादवलाई ऊर्जा, सिँचाइ तथा खानेपानी र कौशलकिशोर रायलाई श्रम तथा यातायात मन्त्री बनाउने तयारी छ ।
संघमा काँग्रेस र एमालेबीच सत्ता गठबन्धन बनेपछि मधेसमा जनमतलाई दिने सहमति भएको थियो । त्यसै अनुसार कांग्रेसले जनमत पार्टीका मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिएको थियो।
गत असार २२ गते मधेस प्रदेश सभामा विश्वासको मत दिनुअघि कांग्रेसलाई अर्थसहित चार मन्त्रालय दिने मौखिक सहमति भएको थियो । तर सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले अर्थ मन्त्रालय नदिने अडान लिएपछि मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन।