२०८१ पुष १९

भरतीय बस दुर्घटनाका १२ घाइतेलाई हेलिकोप्टरमार्फत काठमाण्डौँ ल्याइयो ।

काठमाण्डौँ, तनहुँको आँबुखैरेनी गाउँपालिका–२,को मर्स्याङ्दी नदीमा दुर्घटनाग्रस्त भारतीय बसका १२ घाइतेलाई थप उपचारको लागि काठमाण्डौँ ल्याइएको छ ।
घाइतेहरूलाई नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट काठमाण्डौँ ल्याइएको नेपाली सेनाले जनाएको छ । भारतीय पयर्टक बस शुक्रबार बिहान दुर्घटनामा परेको सूचना पाएलगत्तै मेडिकल टिमसहितको सेनाको हेलिकोप्टर दुर्घटनास्थल पुगेकोे थियो ।
काठमाण्डौँ ल्याइएका घाइतेहरूको त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको सेनाले जनाएको छ । साथै, थप घाइतेलाई उद्धारको लागि हेलिकोप्टर पुनः घटनास्थलतर्फ गएको सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस अन्दाजी बिहान ११ः४० बजे तनहुँको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।
बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा ४३ जना सवार थिए । १७ जनाको जीवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।