२०८१ आश्विन २

बालबालिका माथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व हो : राष्ट्रपति

काठमाण्डौँ, बालबालिका माथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।
राष्ट्रिय बाल दिवस, २०८१ को अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति पौडेलले सन्देशमा यस्तो बताएको हो ।
बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस, २०८१ मनाउन लागिएको छ । बालबालिकाको लागि लगानी भनेको उनीहरूको पालनपोषण, शिक्षा दीक्षा, संरक्षण एवम् विकासका लागि गरिने सन्देशमा उल्लेख गरेका छन् ।
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शन बमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका सम्बन्धी नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छन् । बाल अधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारी गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको अहम् दायित्व हुन आएको उनको भनाई छ ।