२०८१ आश्विन ३

आज काठमाण्डौँमा इन्द्र जात्रा पर्व मनाइँदै, राष्ट्रपतिले रथयात्रा नजर गर्ने ।

काठमाण्डौँ, काठमाण्डौँ उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदैछ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाण्डौँ, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइने गरिन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन काठमाण्डौँको बसन्तपुरस्थित् हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि यो जात्रा शुरू हुन्छ । जात्रा अवधिभर विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ ।
आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित् गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि त्यसलाई लडाउने विधान छ । लिङ्गो लडाइसकेपछि जात्रा पूर्ण अर्थात भएको मानिनेछ ।
इन्द्र जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ । साथै उपत्यकाका, बैंक, वित्त, शिक्षण संस्था लगायत सरकारी कार्यालयहरू बन्द रहनेछन् ।