२०८१ आश्विन ४

मधेश प्रदेश सरकारले पहिलो पटक संविधान दिवस–२०८१ मनायो ।

जनकपुरधाम, मधेश प्रदेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस–२०८१ मनाएको छ ।
दिवसको अवसरमा गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बिहीबार बिहान प्रभातफेरि गरिएको थियो । जनकपुरधामको रामानन्द चोकबाट सुरु भएको प्रभातफेरि नगरको विभिन्न भागको परिक्रमा गर्यो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ब्याण्डबाजासहित प्रभातफेरिमा मुख्यमन्त्री सतिशकुमार सिंह, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सांसद, सुरक्षा निकायका प्रमुख, कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
प्रभातफेरि जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संकृति भवनको सभाहलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले वर्तमान संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप सुधारको आवश्यकता रहेको बताए । संविधानले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई ठूला उपलब्धिको रूपमा स्थापित गरेको उनको भनाइ छ ।
मुख्यमन्त्री सिंहले प्रदेश सरकारलाई बलियो बनाए मात्र लोकतन्त्र र गणतन्त्रलाई मजबुत बनाउन सकिने भन्दै, संविधानमा रहेका असहमतिहरूको सार्थक सम्बोधन गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले वर्तमान संविधानले दिएको उपलब्धिहरूलाई संस्थागत गर्दै परिमार्जन गरी जनताको चाहनालाई सम्बोधन गर्नुपर्ने बताए ।
मधेश सरकारले यसअघि संविधान दिवस मनाएको थिएन । साढे ६ वर्षसम्म जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि पहिलो पटक मनाइएको हो ।