२०८१ पुष १२

आजदेखि चितवन निकुञ्जभित्र जिप सफारी सुरु ।

चितवन, वर्षातका कारण चितवन राष्ट्रिय निकुञ्जभित्र रोकिएको जिप सफारी आज (फूलपाती) का दिनदेखि सुरु भएको छ ।
लामो समय वर्षात भएका कारण निकुञ्जभित्रको सडक र पुल मर्मत एवं झाडी सफा गर्ने काम गर्न कठिन भएपछि केही ढिला गरी निकुञ्जले जिप सफारी ल्याएको हो । गत वर्ष असोज १६ गतेदेखि जिप सफारी खुल्ला गरिएको थियो । निकुञ्ज बाहिरका सामुदायिक वनमा भने वर्षातमा समेत पर्यटकीय गतिविधि हुने गर्दछ ।


चाडपर्वमा घुम्न आउने पर्यटकलाई लक्षित गरी सबै सडक सफा गर्न नसकिए पनि सफारी खुल्ला गरिएको हो । निकुञ्जभित्र सबैभन्दा बढी सौराहाबाट ३२ जिप चल्ने गर्दछन् । कसराबाट २०, मेघौलीबाट नौ, माडीबाट एउटा, नवलपरासीको अमलटारीबाट ६ तथा कुजौलीबाट दुईवटा जिपले निकुञ्जभित्र पर्यटक घुमाउने गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
निकुञ्ज क्षेत्रको मुख्य पर्यटकीय गतिविधि जिप सफारी हो । अन्य गतिविधि डुङ्गा सफारी, चरा हेर्ने (बर्ड वाचिङ्) लगायतका गतिविधि भने सबै समय खुल्ला हुने गर्दछ । सफारी पर्यटनका लागि नेपालको महत्त्वपूर्ण गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज हो । सफारी गर्न लाखौं आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।