२०८१ पुष १९

बडा दसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन ।

काठमाण्डौँ, आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा ग्रहण गरिने वर्षको दसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन हो ।
सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो ।


आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज दिन अन्तिम दिन हो । विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद थाप्न घरघरमा जाने गर्छन् ।
दसैँको सार्वजनिक बिदा सोमबार सकिएर मंगलबारदेखि सरकारी कार्यालय खुलेका छन् । टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहने शास्त्रीय व्यवस्था रहेको छ ।
यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले पात्रोहरु (पञ्चांग)मा उल्लेख छ ।
कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसैँ समापन हुन्छ ।