२०८१ कार्तिक २

आजदेखि दक्षिण एसियाली (साफ) वुमन्स च्याम्पियनसिप फुटबल काठमाण्डौँमा सुरु ।

काठमाण्डौँ, आजदेखि दक्षिण एसियाली (साफ) वुमन्स च्याम्पियनसिप फुटबल काठमाण्डौँमा सुरु हुँदैछ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक सेमिफाइनलबाटै बाहिरिएको थियो । त्यही हारको पीडालाई बिर्साउँदै यसपटक भारत उपाधि जित्ने लक्ष्यमा छ ।
अशलतादेवीको कप्तानीमा रहेको भारतीय टोली यसपटक बलियो छ । टिममा सिनिय र जुनियर खेलाडीको मिश्रण छ भने गोलमेसिन बाला देवीले यस पटक साफमा पुनरागमन गरेकी छन् । नयाँ प्रशिक्षक सन्तोष कश्यपले टोली सम्हालेका छन् । यस पटक भारतीय टिममा धेरै खेलाडी परिवर्तन भइसकेको छ ।
भारतीय कप्तान अशलतादेवीले पाकिस्तानविरुद्धको खेल खेल्दै एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछिन् । अशलताले एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्नका लागि आफू उत्साहित रहेको बताएकी छन् ।
उनले पाकिस्तानविरुद्धको पहिलो खेल महत्वपूर्ण हुने बताइन् । पछिल्लोपटक सन् २०२२ मा काठमाडौंमै भएको साफ यी दुई टोली समूह चरणमा भिडेका थिए जसमा भारत ३–० ले विजयी भएको थियो ।
समूह ए मा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश छ । यस समूहबाट भारत र बंगलादेश सेमिफाइनल पुग्ने सम्भावना बलियो छ ।
उता पाकिस्तानी टिममा भने पछिल्लो संस्करणमा प्रशिक्षक रहेका अदिल रिज्की र कप्तान मारिया खान नै यथावत छन् ।
पहिलो खेलमै भारतसँग खेल्नु पाकिस्तानको लागि ठूलो कुरा रहेको मुख्य प्रशिक्षक अदिल रिज्कीले बताए । ‘पहिलो खेल नै भारत र पाकिस्तानको बीच छ । रिज्कीले गत वर्ष पाकिस्तानले राम्रो खेलहरु खेलेको र ठूला टिमविरुद्ध खेल्न अझ धेरै उत्साहित रहेको बताए । उनले नादिया खान चोटबाट निको भएर फर्कुन राम्रो रहेको बताए ।