२०८१ कार्तिक २

सुनकोशीको बेलिब्रिज निमार्ण अन्तिम चरणमा, शनिबारदेखि सञ्चालनमा आउने ।

सिन्धुली, सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ सेलेघाट जोड्ने गरी बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ ।
खुर्कोट–मन्थली सडक अन्तर्गत उक्त पुलको आधा भाग सुनकोशी नदीमा आएको बाढीले बगाएपछि नेपाली सेनाको प्राविधिक टोलीले त्यहाँ असोज २० गतेदेखि बेलिब्रिज निर्माण (जडान) सुरु गरेको थियो । अब दुई दिनभित्र बेलिब्रिज निर्माण कार्य सम्पन्न हुने नेपाली सेनाको भवानी बक्स गण, सिन्धुलीले जनाएको छ ।
पुलमा टायर गुड्नेलगायतका केही ठाउँमा पार्टपुर्जा हाल्ने र फिनिसिङको काम बाँकी छ । अहिले त्यही काम भइरहेको छ । पुल बगेको रामेछापतर्फको भागमा बुधबार बेलुका बेलिब्रिजको बेस लगेर टेकाउने काम सकिएको गणका गणपति बद्री कुँवरकाले बताए ।
“१८० फिट लम्बाइको बेलिब्रिज जडान गर्ने कार्य भइरहेको छ । सेनाको प्राविधिक टोलीले द्रुत गतिमा काम गरिरहेको छ ।” उक्त प्राविधिक टोलीले दसैँको बेलामा समेत दुई दिन बिदा लिएर काम गरिरहेको र शनिबार मर्मत सम्भारको काम सकिने भवानी बक्स गणले जनाएको छ ।
एसियाली विकास बैंकको १७ करोड रुपियाँभन्दा बढी सहयोगमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाले सुनकोशी नदीमा दुई वटा स्पानको उक्त पुल आर्थिक वर्ष २०७१÷७२ मा निर्माण गरेको थियो ।
रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका केही भागलाई तराईसँग जोड्न बिपी राजमार्ग र मध्यपहाडी राजमार्गका लागि खुर्कोटस्थित सुनकोशी नदीको पुल वरदान साबित भएको स्थानीयले बताएका छन् । पुल बाढीले बगाएसँगै हालसम्म रामेछाप र दोलखा जिल्लाको खुर्कोटस्थित बिपी राजमार्गसँगको सम्पर्क विच्छेद भएको छ ।