२०८१ पुष ११

आज सातौँ सामाजिक सुरक्षा दिवस, कोषमा १८ लाख श्रमिक सूचीकृत ।

काठमाण्डौँ, देशमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ ।
विसं २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुरु गरेको थियो । विस २०७५ मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले आजको दिनलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय पनि गरेको थियो ।
संविधानले हरेक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । सरकारले सोही हक कार्यान्वयन गर्न सामाजिक सुरक्षा कोषमार्फत आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया अघि बढाइरहेको छ ।
कोषमा अहिलेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार क्षेत्रमा रहेका करिब १८ लाख श्रमिक सूचीकृत भइसकेका छन् । सोमबारसम्म औपचारिक क्षेत्रका पाँच लाख ४३ हजार चार सय ९१, वैदेशिक रोजगारमा रहेको १२ लाख ५३ हजार छ सय १५, अनौपचारिक क्षेत्रका तीन सय सात र स्वरोजगार क्षेत्रका दुई सय २७ गरी १७ लाख ९७ हजार छ सय ४० श्रमिक कोषमा आबद्ध भएको कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिए ।
कोषले श्रमिकका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले हालसम्म एक लाख ८० हजार नौ सय २२ श्रमिकलाई विभिन्न सुविधा योजना अन्तर्गत ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम जम्मा भइसकेको छ ।