२०८१ पुष १२

आज सुदूरपश्चिम र कर्णालीमा वर्षा, भोलि (शनिबार) काठमाण्डौँमा बर्षा हुने ।

काठमाण्डौँ, पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आजदेखि दुई दिन सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (शुक्रबार) अपराह्न सुदूरपश्चिमबाट सुरु हुने यो अवस्था आइतबारदेखि मात्रै क्रमिक रुपमा सुधार हुने सम्भावना छ । यसको प्रभावले काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने हुने विभागले जनाएको छ ।
आज अपराह्नदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ । आज राति भने सुदूरपश्चिमका केही स्थानहरु, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुने पूर्वानुमान विभागले गरेको छ ।
यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जानेछ र काठमाडौं उपत्यकामा पनि यसको प्रभाव देखिने छ ।
काठमाडौं उपत्यकामा आज पानी पर्ने सम्भावना देखिँदैन । आज राति काठमाण्डौँमा बादल लाग्ने र शनिबार हल्का वर्षा हुने वरिष्ठ मौसमविद एवं प्रवक्ता विभूती पोखरेलले जानकारी दिए ।
‘भोलि (शनिबार) देशैभर साधारण बदली हुन्छ । सुदूरपश्चिम र कर्णालीका धेरै स्थानहरुमा तथा कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ, काठमाण्डौँ उपत्यकामा भोलि (शनिबार) हल्का वर्षाको सम्भावना रहेको प्रवक्ता पोखरेलले बताए ।
आइतबारबाट क्रमशः मौसम सुधार हुने छ । आइतबार यसको प्रभाव छिटफुट मात्र रहन्छ । आइतबार पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना छ । आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मात्र वर्षा हुने देखिन्छ । अन्य स्थानमा भने खासै वर्षाको सम्भावना नदेखिएको पोखरेलले बताए ।
आज बिहान पौने ६ बजे काठमाण्डौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ । यो तापक्रम भोलि अझै घट्ने सम्भावना छ ।