देशभरको मौसम बदली, काठमाण्डौँ उपत्यकामा धुम्म बादल ।
काठमाण्डौँ, काठमाण्डौँसहित आज देशभरको मौसम बदली भएको छ । काठमाण्डौँ उपत्यकामा बादल लागेको छ । घाम लागेको छैन ।
देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो । कतिपय स्थानमा दिउँसोतिर सामान्य वर्षासमेत हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ ।
हिजो साँझ पश्चिम नेपालबाट बदली सुरू भई आज देशको अधिकांश क्षेत्रमा फैलिएको हो । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा समेत भइरहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात पनि भइरहेको छ ।
आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्