२०८१ पुष १८

आज तमू ल्होसार, विविध कार्यक्रम गरी मनाइदै छ ।

काठमाण्डौँ, गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् ।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।


पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
ल्होसार भनेको नयाँ वर्ष हो । हाल बिक्रम सम्बतको पुस महिनाको १५ गतेमा मनाइने चलन छ । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ ।
ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै ल्होसार मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी मध्य रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर (स्योकै)भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ ।
ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै मौलिक भेषभुषा लगाएर सजिन्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, तमूहरूमा घाटु,सोरठी स्थानीय भाषामा चुड्का भनेर गुरुङ समुदायमा प्रचलित मौलिक चुड्का नाच नाचेर आफ्ना परिवार, ङोलो ङोल्स्यो साथीभाईहरूसँग रमाइलो गर्छन् ।
तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् । वर्गहरूको नाम विभिन्न जनावरहरूको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेस्ता सबै लामा शास्त्र र पच्यु शस्त्र अनुसार थाह पाउन सकिन्छ ।


च्यु–ल्हो (छुं बर्ग÷मुसा बर्ग ) ल्वोँ–ल्हो ( सा बर्ग÷गाइ बर्ग )
तो–ल्हो ( धु बर्ग÷बाघ बर्ग ) हि–ल्हो ( भौ बर्ग÷बिरालो बर्ग ) गिद्द मि–ल्हो) सर्प वर्ग (सप्री–ल्हो) घोडा वर्ग (त–ल्हो) भेंडा वर्ग (ल्हु–ल्हो) बादर वर्ग (प्र–ल्हो) चरा वर्ग (च्हया–ल्हो) कुकुर वर्ग (खि–ल्हो) मृग वर्ग (फो–ल्हो)
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । ल्होसारको अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बेधन गर्ने जनाइएको छ ।