संसदको हिउँदे अधिवेशनमा बढीभन्दा बढी कानून निर्माण गर्ने : सत्तारुढ दल

काठमाण्डौँ, सत्तारुढ दलहरुको बैठकले संसदको हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानून निर्माण गर्ने अधिवेशनका रुपमा अघि बढाउने निर्णय गरेको छ ।
सोमवार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले १८ गतेबाट सञ्चालन हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरुपमा एउटै आवाज उठाउने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सघीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारिता लगायत विषयमा छलफल गर्न बैठक बसेको थियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले
सत्तारुढ दलहरुमा कुनै समस्या नरहेको पनि स्पष्ट गरे । उनले संसदमा सिंगो सत्तापक्ष एकरुपताका साथ अघि बढ्ने निर्णय भएको बताए ।
उनले १८ गतेको संसदको बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने र संसदको काम कारबाहीहरुमा सत्तारुढ दलहरु एक ठाउँमा उभिएर सशक्त र बलियो बनाउँदै लैजाने निर्णय भएको बताए ।
बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतसमेत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्