२०८१ चैत्र १

आज गण्डकी प्रदेशको आठौं स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा ।

काठमाण्डौँ, गण्डकी प्रदेश सरकारले आज आफ्नो आठौं स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
आज गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरुमा बिदा दिएको हो ।यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकारको स्थापना दिवस गरी छुट्टाछुट्टै मनाउँदै आए पनि यसवर्षदेखि स्थापना दिवसमात्रै मनाउने निर्णय गरेको हो ।
२०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्थापनाकाल देखि नीतिगत, कानूनी र संस्थागत पक्षहरूलाई स्थापित गरी आफूलाई परिपक्व बनाउँदै लगेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उनले गण्डकी प्रदेश सरकारले लिएको “आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी” को संकल्प पूरा गर्न सरकार कटिबद्ध रहेको पनि जिकिर गरेका छन् ।
‘संघीयताको मर्म अनुसार समावेशी, दिगो, र समान विकासलाई अघि बढाउँदै नागरिकलाई चुस्त सेवा प्रवाह, सुशासनको अनुभूती दिलाउन तपाई हाम्रो सामूहिक प्रयास जरुरी छ’, उनले भनेका छन्, ‘भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र उद्यमशीलताको प्रवद्र्धन गर्दै दिगो विकासका लक्ष्य भेट्टाउने दिशामा सरकारले आफ्ना नीति कार्यक्रम संचालन गरिरहेको छ ।’
उनले सीमित अधिकार र स्रोत, साधनका बाबजुद पनि आम नागरिकको मागलाई आवश्यकता र प्राथमिकिकरण गरी सरकारले सम्बोधन गरिरहेको उल्लेख गरेका छन् ।