तिमाङको जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन, सबै संयन्त्र परिचालन ।
मनाङ, मनाङको चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा शुक्रबारदेखि लागेको डढेलो अझै पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले डढेलो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए ।
“आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ । डढेलो बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउने प्रयासमा छन्”, प्रजिअ आचार्यले भने, उत्तर तर्फको भूभाग अत्यन्तै जटिल भएकाले डढेलोे नियन्त्रणमा लिन समस्या भइरहेको हो । दक्षिण तर्फको भागमा डढेलोे फैलिएर मानव वस्तीमा आउन नदिन सबै उपायहरु अवलम्बन गरीएको पनि प्रजिअ आचार्यले बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलले यो समय सुक्खायाम भएकाले पनि डढेलो नियन्त्रण लिन नसकिएको बताए ।
सल्लाको काठ, पातपतिंगरले गर्दा डढेलो बढ्नसक्ने डर रहेको प्रमुख भुजेलले बताए । सोमबारसम्म करिब डेढ हेक्टर क्षेत्रफल वनजंगलमा डढेलो लागिरहेको भुजेलले जानकारी दिए ।
विसं २०७७ मंसिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । जसले मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वन नष्ट भएको थियो ।
प्रतिक्रिया दिनुहोस्