राष्ट्रपति पौडेल आज पोखराको सराङकोट जाँदै ।

काठमाण्डौँ, आज राष्ट्रपति रामचन्द्र पौडेल पोखराको सराङकोट जाने भएका छन् ।
पोखराको सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव उद्घाटन गर्न राष्ट्रपति पौडेल पोखराजान लागेका हुन् ।
राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान १० बजे काठमाण्डौँबाट सिधै सराङकोट धाम झर्ने तय भएको छ । उनले सराङकोटमा बनेका विशाल पञ्चमुखी गणेश मूर्ती, कैलाशेश्वर शिव मन्दिरलगायतका देवालय, १०८ शिवलिङ तथा धाराहरु समेत उद्घाटन गर्ने सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।
समारोहलाई राष्ट्रपति पौडेलसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
सराङकोटमा फागुन १४ गते शिवरात्रिदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव जारी छ । महाउत्सवको तेस्रो दिन शुक्रबारसम्म ६५ लाख दान संकलन भएको छ ।
सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । संरचना निर्माणमा हालसम्म ३५ करोडभन्दा बढी खर्च भइसकेको र अझै १५ करोडका संरचना निर्माण गर्ने समितिको योजना छ ।
प्रतिक्रिया दिनुहोस्