२०८१ चैत्र १

काठमाण्डौँ सहित विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने, हवाई सेवा प्रभावित हुने सम्भावना

काठमाण्डौँ, पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले आज बिहानैदेखि देशभरको मौसम आंशिक बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार विभागले आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
काठमाण्डौँमा अपराह्नपछि वर्षाको सम्भावना छ, ठूलो वर्षा नभए पनि हल्का वर्षाको सम्भावना छ । काठमाण्डौँका सबै स्थानमा वर्षा नभए पनि केही ठाउँमा वर्षा हुने विभागले जनाएको छ ।
प्रि–मनसुनमा स्थानीय वायु सक्रिय भएर वर्षा हुने सम्भावना उच्च हुने र यसलाई सामान्य मानिने विभागले जनाएको छ । अपराह्नपछि प्रि–मनसुनमा वर्षा हुनुलाई समान्य मान्नुपर्ने पनि विभागले जनाएको छ ।
मेघगर्जन र चट्याङसहित हल्का वर्षाको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्छ,” विभागले भनेको छ, “त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।