नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण तीव्र ।

काठमाण्डौँ, नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको लक्षित गरी क्रियाशील सदस्यता वितरण कार्य तीव्र पारिएको छ ।
महामन्त्री गगनकुमार थापा संयोजकत्वको क्रियाशील सदस्यता वितरणसम्बन्धी समितिको निर्देशनपछि सदस्यता वितरणले तीव्रता पाएको हो ।
समितिले पार्टीका सबै कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य सम्पन्न गरी निर्णयको प्रतिलिपि, अद्यावधिक विवरण, सदस्यता शुल्कसहितका कागजात तथा जिल्लाको प्रतिवेदन २०८१ चैत २९ गते केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएपछि वडास्तरबाटै सदस्यता वितरणको काम अघि बढेको हो ।
नेपाली काँंग्रेसले एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका क्षेत्रीय कार्यसमितिले प्रदेश सभा कार्यसमितिबाट प्राप्त क्रियाशील सदस्यता नवीकरण फाराम चैत १५ गते पठाउन भनिएको छ ।
नेपाली काँग्रेसको क्रियाशील सदस्यतासम्बन्धी समितिमा महामन्त्री थापासँगै केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र स्नेही हुनुहुन्छ । क्रियाशील सदस्यताबारे वडाले प्रस्ताव गरेपछि पालिकाले सिफारिस गर्ने छ । क्षेत्रीय समितिले पारित गरेर जिल्ला र प्रदेशले अनुमोदन गरेपछि मात्रै केन्द्रमा आइपुग्ने छ ।
प्रतिक्रिया दिनुहोस्