२०८१ चैत्र २९

राजावादी–गणतन्त्रवादी प्रदर्शन: काठमाण्डौँको ट्राफिक बिहानैबाट अस्तब्यस्त ।

काठमाण्डौँ, काठमाण्डौँ उपत्यकामा आज गणतन्त्रवादी र राजावादीहरुले अलग अलग प्रदर्शन गर्दै छन् । जस्का कारण काठमाण्डौँको ट्राफिक ब्यस्थापन बिहानैबाट अस्तब्यस्त भएको छ ।
गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् । राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।
आजको एसईई परीक्षा ११ बजे सकिएपछि १२ बजेदेखि प्रदर्शन सुरु गर्ने तयारी छ ।आजको प्रदैशनी र त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितीलाई ध्यानमा राखेर अधिकांश विद्यालयहरुले आज विदा दिएको छ ।
दुवै पक्षको प्रदर्शन एकै समयमा प्रदर्शन हुन थालेपछि काठमाण्डौं उपत्यकाभर सुरक्षा सतर्कता बढाइएको छ । सुरक्षा सतर्कता अपनाउने क्रममा राजावादीहरुको समूहलाई चक्रपथ भन्दा भित्र प्रवेश गर्न नदिने र गणतन्त्रवादीहरुलाई काठमाण्डौँ चक्रपथभित्र सीमित गर्ने गरी रणनीति तयार पारिएको छ ।
आजको जुलुस र सभालाई दुवै पक्षले शक्ति प्रदर्शनको रुपमा लिएका छन् । त्यसैले सकेसम्म धेरै मानिस काठमाडौंमा उतार्ने उनीहरुको तयारी छ । उनीहरुले विभिन्न जिल्लाबाट बसमार्फत् आ–आफ्ना समर्थकहरु ओसारेका छन् ।

सुरक्षा ब्यस्था ।
प्रदर्शनमा अप्रिय घटना हुने हो कि भन्ने आशंकाले राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा चासो समेत बढेको छ । नेपालस्थित अष्ट्रेलियन दूतावासले ठूलो राजनीतिक प्रदर्शन हुन लागेको भन्दै सतर्क रहन सूचना जारी गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले पनि विहीबार काठमाण्डौँ उपत्यकाका प्रमुख दुई जिल्ला ललितपुर र काठमाडौंका प्रहरी प्रशासनका प्रमुखहरुलाई भेटेर सुरक्षा तयारीबारे चासो राखेको छ । साथै आयोगले सुरक्षा चुक हुन नदिन सचेत गराउँदै दुवै पक्षको प्रदर्शनलाई अनुगमन गर्न आफ्ना प्रतिनिधिहरु खटिने जानकारी पनि गराएको छ ।

२,५०० प्रहरी र १,७५० सशस्त्र प्रहरी तैनाथ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङका अनुसार सुरक्षाका लागि २५ सय प्रहरी परिचालन गरिएको छ । आवश्यकता अनुसार यसको संख्या बढ्न सक्ने उनले बताए । सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरी समेत परिचालन गरिएको छ । घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरुको पहिचान गर्न सादा पोशाकका प्रहरीले सहयोग गर्ने बताइएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार सशस्त्र प्रहरीमात्रै साढे १७ सय परिचालन गरिएको छ । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले पनि पछिल्लो राजनीतिक अवस्था र सम्भावित चुनौतीको विश्लेषण गरेको छ । त्यसैलाई आधार मान्दै सशस्त्र प्रहरीले आफ्नो सुरक्षा रणनीति बनाएको छ ।
प्रहरीको सहयोगीका रुपमा सशस्त्र प्रहरी खटिने भएकाले पहिलो भिड नियन्त्रणको पहिलो भूमिका प्रहरीले निभाउने छ । यसका लागि सूचना संकलनको रुपमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को टोली पनि खटिएको छ ।