आज घोडेजात्रा पर्व, नेपाली सेनाद्वारा टुँडिखेलमा घोडा सम्बन्धी विविध कार्यक्रमको आयोजना ।

काठमाण्डौँ, आज चैत्र कृष्ण औँसी अर्थात घोडेजात्रा पर्व काठमाण्डौँ उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ ।
घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि सामाजिक जात्राकारुपमा प्राचीन कालदेखिनै काठमाण्डौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसीका दिन नेपाली सेनाले टुँडिखेलमा धाडा सम्बन्धी विविध कार्यक्रमको आयोजना समेत गरेको छ ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय रहिरह्यो ।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यो पर्व काठमाडौं उपत्यकाको प्रचलित प्राचीन जात्रा मध्येको एक हो।
प्रतिक्रिया दिनुहोस्