अछामको जयगढ बजारमा भीषण आगलागी, विवरण आउन बांकी ।

अछाम, अछाम जिल्लाको बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा रहेको पुष्पराज शर्माको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर आगलागी भएको हो ।
मंगलबार बेलुका ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाँडा पसल र गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए ।
आगो निभाउनका लागि नेपाली सेनाको गोरख बक्स गण मङ्गलसेनबाट सेनानी अमृत खड्काको कमाण्डमा–२० जनाको टोली, जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय कार्कीको कमाण्डमा–९ जनाको टोली र सशस्त्र प्रहरी बल खप्तड गुल्मका सशस्त्र प्रहरी निरीक्षक हंसराज जोशीको कमाण्डमा–११ जनाको टोली सहित मङ्गलसेन नगरपालिकाको दमकल पनि खटाइएको छ ।
आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको जिल्ला प्रशासन कार्यालय अछामको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्