२०८१ पुष ११

इलामले धनगढी एफसीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडे

नेपाल सुपर लिग (एनएसएल) मास्पोर्टिङ इलामले धनगढी एफसीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
पहिलो हाफमा २–० को अग्रता बनाएको इलामले दोस्रो हाफमा दुई गोल खाएको हो । धनगढीले २ गोलले पछि परिसकेको अवस्थामा खेलमा फर्किँदै हार टारेको छ ।
खेलको ४५ औं मिनेटमा इलामका फोडे कमाराले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा थपिएको इन्जुरी समयमा ओमार मासादाफी रहिमले गोल गरेपछि इलाम बलियो अवस्थामा पुगिसकेको थियो ।
तर खेलको ६९ औं मिनेटमा इलामका खेलाडी इब्राहिमले धनगढीका फोडे फोफानालाई पेनाल्टी एरियामा फल गरेपछि धनगढीले पेनाल्टी पायो । जसलाई रिचर्ड ओसेईले सहजै गोल गरे ।


त्यसपछि ८३ औं मिनेटमा फोडे फोफानाले मैदानको दायाँ भागबाट दिएको क्रसमा आफिज ओलावालेले हेडर गोल गरेर खेल बराबरीमा ल्याएका थिए । एनएसएलमा धनगढीको यो लगातार दोस्रो बराबरी हो । पहिलो दुई खेल जितेको धनगढीले त्यसपछिका दुई खेलमा बराबरीको नतिजा ल्याएर ८ अंक जोड्दै पोखरासँग अंक बराबरी गरेको छ । गोल अन्तर समेत बराबरी भएपछि धेरै गोल गरेको आधारमा धनगढी शीर्ष स्थानमा पुगेको छ ।
इलामको भने यो पहिलो बराबरी हो । खेलेका पाँच खेलमध्ये इलामले एउटा खेल जितेको छ भने अरु तीनवटा हारेको छ । ४ अंक जोडेको इलाम लिगको छैटौं स्थानमा उक्लिएको छ ।