२०८१ पुष १९

ईतिहासकै बढी पर्यटक नेपाल भित्रिए

tourist visit in nepal

काठमाडौं – अक्टोबर महिनामा नेपालमा सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका छन् ।

एक महिनामा नेपाल भित्रिएको पर्यटक इतिहासकै सबैभन्दा धेरै हो । यसअघि सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए । विश्वभर फैलिएको कोरोना महामारीका कारण सन् २०२० को अक्टोबरमा एक हजार ८३१ पर्यटक नेपाल आएका थिए ।

२०२१ को अक्टोबरमा १५ हजार ७१५ र सन् २०२२ को अक्टोबरमा ५२ हजार १२१ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांक हेर्दा पर्यटक आगमनमा उत्साहजनक देखिएको छ ।

अक्टोबरमा सबैभन्दा धेरै भारतबाट पर्यटक आएका छन् । भारतबाट १८ हजार ४ सय ८० पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारतपछि सबैभन्दा धेरै अमेरिकाबाट १४ हजार ८ सय ७९ पर्यटक नेपाल आएका छन् । यस्तै, तेस्रो मुलुक बेलायत रहेको छ । बेलायतबाट आठ हजार २सय १७ पर्यटक नेपाल आएका छन् । चौथो स्थानमा रहेको चीनबाट ६ हजार ८ सय ८० पर्यटक नेपाल आएका छन् । अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट पाँच हजार ९ सय १६, फ्रान्सबाट पाँच हजार २७१, बंगलादेशबाट चार हजार २ सय ९२, श्रीलंकाबाट दुई हजार ५ सय ७ र इटलीबाट दुई हजार ४ सय ६७ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।