२०८१ माघ २३

नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै ।

काठमाण्डौँ, नेपाली काँग्रेस संसदीय दलको बैठक केहीबेर पछि बस्दैछ ।
सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको काँग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन सोमबार बिहान ९ बजे संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाएको हो ।
बैठकअघि सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा छलफल गर्दैछन् । काँग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएकोमा आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीको रकम दुरुपयोग नगरेको दाबी गरेका थिए । काँग्रेसको आजको बैठकमा गृहमन्त्रीको सम्बोधनमाथि समेत छलफल हुने जनाइएको छ ।
अब सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा दलको बैठकले निर्णय लिने काँग्रेस नेताहरूले बताएका छन् । संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष र प्रतिपक्षबिच शनिवारै सैद्धान्तिक सहमति भइसकेको छ । तर आइतबारको समितिको कार्यक्षेत्रका विषयमा भने सहमति हुन सकेन । काँग्रेसले गृहमन्त्री लामिछानेलाई नै तोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने अडान लिएको छ भने सत्ता पक्षले व्यक्ति वा निश्चित संस्था नतोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने भन्दै आएको छ ।
आइतबारको सम्बोधनमा गृहमन्त्री लामिछानेले आफू निर्दोष रहेको मात्रै दाबी नगरेर धम्कीपूर्ण भाषामा काँग्रेस नेताहरूमाथि लाञ्छना लगाएका कारण संसद्मा काँग्रेस अब झन् कडारुपमा प्रस्तुत हुन सक्ने आङ्कलन समेत भइरहेको छ ।