नेपाल आउने विदेशी कामदारमध्ये चिनियाँ नागरिकको संख्या धेरै ।
आनन्द गुरुङ, काठमाण्डौँ, श्रम स्वीकृति लिएर नेपाल आउने विदेशी कामदारमध्ये चिनियाँ नागरिकको संख्या उल्लेख्य रहेको पाइएको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चिनियाँ नागरिकको संख्या धेरै देखाएको हो ।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा रोजगारीका लागि ६९ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ छन् । चालु आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा सरकारले दुई हजार ३ सय ३६ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ ।
नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने श्रम ऐनमा प्रावधान छ । नेपालमा खासगरी विदेशी लगानीमा निर्माण भइरहेका ठूला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् ।
रोजगारीका लागि दैनिक औसतमा दुई हजार जनशक्ति विदेश गइरहेको अवस्थामा सरकारले उच्च दक्ष जनशक्ति नपाउँदा विदेशी नागरिकलाई काम गर्ने अनुमति दिँदै आएको छ ।
यसअघि आर्थिक वर्ष २०७९÷८० मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न नेपालबाट श्रम स्वीकृति लिने विदेशीको संख्या दुई हजार ९ सय ९४ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्