इजरायलमा ४८ घण्टाका लागि संकटकाल घोषणा,सावधानी अपनाउन आफ्ना नागरिकलाई सचेत ।
काठमाण्डौँ, इजरायल सरकारले ४८ घण्टाका लागि देशभर संकटकाल घोषणा गरेको छ ।
इजरायली रक्षामन्त्री योव ग्यालान्टले संकटकाल घोषणा गरेका हुन् । यसले इजरायली रक्षा बल (आईडीएफ)को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्धहरू जारी गर्न सहज हुनेछ । मन्त्रिपरिषद्ले विस्तार नगरेसम्म यो अवस्था ४८ घण्टाका लागि मान्य हुनेछ ।
इजरायलमा थप जोखिम बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कता रहन भनिएको छ ।
आइतबार बिहान इजरायली डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले दक्षिणी लेबनानमा रहेका लेबनानी नागरिकलाई आक्रमण हुनसक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई सचेत गराएका छन् ।
“हिजबुल्लाहले दक्षिणी लेबनानबाट नजिक इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ ।यसको बदलामा इजरायलले हिजबुल्लाहमाथि आक्रमण गर्ने तयारी गरिरहेको छ । तसर्थ हामी उक्त क्षेत्रमा रहेका लेबनानी नागरिकलाई तुरुन्तै स्थान खाली गर्न आग्रह गरेका छौँ ।” आईडीएफका प्रवक्ताले भनेका छन् ।
“आईडीएफले इजरायली नागरिकको सुरक्षाका लागि आवश्यक सबै तयारी गरिरहेको छ र गर्नेछ,” उनले भने ।
गत महिना तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानिया र लेबनानमा हिजबुल्लाह कमाण्डर मारिएपछि इरानले इजरायलसँग बदला लिने चेतावनी दिएको थियो । इरानको सम्भावित आक्रमणविरूद्ध इजरायलले कडा प्रतिशोधको तयारी गरिरहेको पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्