२०८१ पुष ११

आजदेखि बीपी राजमार्गमा २४ सै घण्टा सवारीसाधन चलाउन पाइने ।

धुलिखेल, आजदेखि बीपी राजमार्गमा २४ सै घण्टा सवारीसाधन चलाउन पाइने भएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै आजदेखि २४सै घण्टा धुलिखेल–भकुण्डेबेसी सडकखण्डमा सवारीसाधन चलाउन पाइने जनाएको हो । बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको छ ।
धुलिखेल–भकुण्डे खण्डमा २४ सै घण्टा सवारीसाधन सञ्चालनमा आएपनि नयाँ खुलेको चौकीडाडा–बर्खेखोलासम्म बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन रोकिएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।
बाढीपहिरोका कारण बीपी राजमार्गमा असोज ३० गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म राति १० घण्टा सवारीसाधन चलाउन बन्द गर्ने निर्णय गरेको थियो । उक्त खण्डमा सुख्खा पहिरो तथा खोला बगरमा ट्रयाक भएको, तथा बिभिन्न स्थानमा सडक साघुरो भएकोले सवारी साधन चलाउन रोक लगाइएको थियो ।
अविरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्ड काभ्रेको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएको थियो।