पीडादायी पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन, असावधानीले जले अर्थमन्त्री र मेयर ।

पोखरा, २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन पीडादायी बनेको छ ।
बेहुली झैँ सिंगारिएको मञ्च उजाडियो, भरिभराउ कुर्सी केहीबेरमै रित्ता भए । वर्षभरि पर्यटक बोलाउँदै पोखरालाई उत्सवमय बनाउने लक्ष्यसहित शनिबार ‘पोखरा भ्रमण वर्ष–२०२५’ घोषणा हुँदै थियो । पोखराका विभिन्न स्थानबाट निस्किएका झाँकी र बाजागाजाले पोखरा गुञ्जिएको थियो । मञ्च बेहुली झैँ सिंगारिएको थियो । पोखरेली खुसी थिए, उत्साही थिए ।
एकाएक कार्यक्रमस्थलमा सन्नाटा छायो । सबैका खुसी चिन्तामा परिणत भए । अप्रत्यासित घटनाले कार्यक्रम खल्लो मात्रै भएन, अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको ज्यानै जोखिममा प¥यो । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्न बेहुली झैँ सिंगारिएको मञ्च उजाडियो, भरिभराउ कुर्सी केहीबेरमै रित्ता भए ।
उद्घाटन समारोहको डिजिटल इनागुरेसन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्यान्डिलबाट निस्किएका झिल्काहरू (स्पारकल्स)सँग ठोकिन पुगेपछि विस्फोटसहित आगोको मुस्लो निस्कियो । बेलुनको झुप्पा समाइरहेका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई त्यही मुस्लोले छोप्यो ।
अर्थमन्त्री पौडेल हातले आगो निभाउँदै दौडिएर मञ्चमाथि पुगे । मेयर आचार्य दर्शकदीर्घातिर हुत्तिए । मञ्चमै रहेका मन्त्री पौडेललाई सुरक्षा गार्डले बाँकी रहेका आगोका झिल्का निभाए । उता, मेयर आचार्यलाई पनि नजिकै रहेकाहरूले त्यसै गरे ।
तर, त्यतिबेलासम्म अर्थमन्त्री पौडेल र मेयर आचार्यको गाला, हात, कपाल लगायत शरीरका अन्य केही भागमा आगोले ढडीसकेको थियो ।
तत्कालै पौडेललाई पोखराको गण्डकी मेडिकल कलेज र आचार्यलाई फिस्टेल अस्पतालमा उपचारका लागि पु¥याइयो । त्यहाँ प्राथमिक उपचारपछि हेलिकोप्टरबाट काठमाण्डौँ ल्याई अहिले काठमाण्डौँस्थित् कीर्तिपुर बर्न अस्पताल उपचार भइरहेको छ ।
अस्पतालले सघन कक्षमा राखेर दुवैको उपचार चलिरहेको, शरीरको ५, ६ प्रतिशत भागमा जलन रहेको भन्दै उच्च निगरानीमा राखिएको कीर्तिपुर बर्न अस्पतालले जनाएको छ । अनुहारका विभिन्न भाग जलेकाले फोक्सोमा असर पुग्न सक्ने जोखिमलाई मध्यनजर गर्दै उच्च निगरानीमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्