२०८१ चैत्र १

मनाङमा सार्वजनिक बस सञ्चालनको तयारी ।

चामे, हिमाली जिल्ला मनाङमा सार्वजनिक बस सञ्चालनको तयारी गरिएको छ । बेसीशहरदेखि मनाङ सदरमुकाम चामेसम्म सार्वजनिक बस सञ्चालन गर्ने सम्बन्धमा आइतबार तयारी बैठक बसेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए ।
प्रमुख जिल्ला अधिकारी आचार्यको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख, लमजुङ कालिका यातायात प्रा.लि.का पदाधिकारी तथा चामे गाउँपालिकाका अध्यक्ष, नासो गाउँपालिकाका उपाध्यक्ष, र पूर्वाधार विकास कार्यालयका प्रमुखसहित बसेको समन्वयात्मक बैठकले सार्वजनिक यातायातका रूपमा बस सञ्चालन गर्ने निर्णय गरेको छ । उनले भने ‘यसअधि विपद व्यवस्थापन समितिको बैठकमा पनि सार्वजनिक बस सञ्चालन गर्ने बारे सामान्य कुरा भएको थियो । तर, आज लमजुङ कालिका यातायात प्रा.लि.का पदाधिकारी सहित बैठक बसी सार्वजनिक बस सञ्चालन गर्ने निधो गरिएको बताए ।’
मनाङ मस्र्याङदी हाइड्रो पावर कम्पनीले बेसीशहर–चामे सडकको स्तरउन्नती गरिरहेको र पहिलेको भन्दा सडकको अवस्था पनि राम्रो भएकाले हामीले लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेसम्म पहिलोपटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालन गर्ने तयारी गरेका छौं । तर, सो सडकको स्थलगत पूर्ण निरीक्षणका साथै कानूनी प्रक्रिया पूरा गरेपछि मात्र यातायात सञ्चालन हुने प्रजिअ आचार्यले बताए ।

                 सूचना                             सूचना                                          सूचना


किनभने बस सञ्चालनका लागि यातायात व्यवस्था कार्यालयबाट आवश्यक रुट इजाजतपत्र लिन पर्ने हुन्छ र रुट इजाजतपत्र प्राप्त भएपछि भाडादर निर्धारण गरी बस सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
सार्वजनिक यातायात बस सञ्चालन भएमा मनाङको यातायात व्यवस्थापनमा उल्लेख्य सुधार हुने अपेक्षा बैठकले गरेको छ । प्रजिअ आचार्यले पर्यटक तथा आम सर्वसाधारण तथा कर्मचारीले उचित तथा सहुलियत भाडादरमा सहज र सुरक्षित रूपमा सवारी साधनको यात्रा गर्न पाउने तथा मालसामान ढुवानीका साधनसमेत सञ्चालन भई मालसामानको बजारदरमा समेत कमी आउने बताए ।